धादिङका १,३५६ स्थायी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन सम्पन्न, बागमतीमै पहिलो जिल्ला

धादिङका १,३५६ स्थायी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन सम्पन्न, बागमतीमै पहिलो जिल्ला

None

धादिङ जिल्लाका १,३५६ जना स्थायी शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन (का.स.मू.) सम्पन्न भएको छ । यससँगै बागमती प्रदेशमा स्थायी शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन प्रक्रिया सबैभन्दा पहिले सम्पन्न गर्ने जिल्ला बन्न धादिङ सफल भएको छ ।

शैक्षिक सत्र २०८२ का लागि सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकमध्ये १,३५६ जनाले कार्यसम्पादन मूल्याङ्कन फाराम भरेका थिए । सुपरिवेक्षक तथा पुनरावलोकन समितिबाट आवश्यक अंक प्रदान गरी सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको शिक्षा विकास तथा समन्वय इकाइ, धादिङले जनाएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा सहभागी शिक्षकहरूमध्ये १३३ जना माध्यमिक तह, १५८ जना निम्न माध्यमिक तह र १,०६५ जना प्राथमिक तहका शिक्षक रहेका छन् । स्थानीय तहअनुसार रुवीभ्याली गाउँपालिकाबाट सबैभन्दा कम ३५ जना र नीलकण्ठ नगरपालिकाबाट सबैभन्दा बढी २३४ जना शिक्षकले का.स.मू. भरेका छन् ।

जिल्लास्तरको सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि शिक्षा विकास तथा समन्वय इकाइ, धादिङले शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी कागजात शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश, हेटौँडास्थित शिक्षक बढुवा सचिवालयमा पेस गरेको छ । निर्देशनालयमा का.स.मू. बुझाउने क्रममा धादिङ बागमती प्रदेशकै पहिलो जिल्ला बनेको हो ।

शिक्षकले कार्यसम्पादन मूल्याङ्कन फाराम भरेपछि सम्बन्धित विद्यालयमा दर्ता गरिन्छ । त्यसपछि सम्बन्धित पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखबाट सुपरिवेक्षण हुने र अन्तिम पुनरावलोकन शिक्षा विकास तथा समन्वय इकाइमार्फत गरिने व्यवस्था रहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार धादिङमा भौगोलिक विकटता चुनौतीपूर्ण भए पनि रुवीभ्याली, खनियाबास, गङ्गाजमुना लगायत सबै स्थानीय तहको प्रभावकारी समन्वय र सहजीकरणका कारण तोकिएको समयभन्दा अगावै कार्यसम्पादन मूल्याङ्कन सम्पन्न गर्न सम्भव भएको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार स्थायी शिक्षकहरूको बढुवा प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कन अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था रहेको छ ।

समाचार श्रोत: dhadingpost.com