गजुरीका तीन माध्यमिक विद्यालयहरूमा बृहत् शैक्षिक अनुगमन; सकारात्मक अभ्याससँगै सुधारका क्षेत्रहरू पहिचान
गजुरीका तीन माध्यमिक विद्यालयहरूमा बृहत् शैक्षिक अनुगमन; सकारात्मक अभ्याससँगै सुधारका क्षेत्रहरू पहिचान
असार २२, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ, धादिङ र गजुरी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयुक्त समन्वयमा गजुरी गा.पा.का विभिन्न माध्यमिक विद्यालयहरूको प्रशासनिक तथा शैक्षिक वातावरणको अनुगमन, निरीक्षण एवं सुपरिवेक्षण कार्य सम्पन्न भएको छ ।
विषय विज्ञहरू सहितको टोलीले विद्यालयहरूको स्थलगत अवलोकन गरी समग्र राम्रा अभ्यास र तत्काल सुधार गर्नुपर्ने पक्षहरूबारे प्रतिवेदन गरियो ।
१. अनुगमन गरिएका विद्यालयहरू:
अनुगमन टोलीले गजुरी गाउँपालिका अन्तर्गतका निम्न विद्यालयहरूमा कक्षा अवलोकन तथा प्रशासनिक निरीक्षण गरेको थियो:
* श्री भानुभक्त मा.वि., गजुरी-६, जेरेबगैंचा
* श्री गजुरी पिडा मा.वि., गजुरी-५, धादिङ
* श्री डोलभञ्ज्याङ माध्यमिक विद्यालय, गजुरी-५, धादिङ
२. अनुगमन टोलीका सहभागीहरू:
अनुगमन कार्यमा शिक्षा क्षेत्रका अधिकारी तथा विषय विज्ञहरूको महत्त्वपूर्ण उपस्थिति रहेको थियो, जसमा निम्न महानुभावहरू संलग्न हुनुहुन्थ्योः
* चण्डिका मल्ल ठकुरी, शाखा अधिकृत, शिक्षा विकास तथा समन्वय इकाइ, धादिङ)
* विजय तामाङ (शाखा अधिकृत)
* सन्तोष पौडेल (वरिष्ठ शिक्षा अधिकृत, गजुरी गाउँपालिका)
* सुरेश कुमार बस्नेत (विषय विज्ञ – नेपाली)
* सुजन भण्डारी (विषय विज्ञ – गणित)
* श्रामेश्वर पोखरेल (विषय विज्ञ – अंग्रेजी)
* धन प्रसाद पराजुली (विषय विज्ञ – विज्ञान)
३. अनुगमनका क्रममा देखिएका सकारात्मक पक्षहरू:
निरीक्षणका क्रममा विद्यालयहरूमा केही निकै प्रशंसनीय र अनुकरणीय अभ्यासहरू पाइएका छन्ः
* नियमित उपस्थिति र रुचि: शिक्षक तथा विद्यार्थीहरूको नियमित एवं उत्साहजनक उपस्थिति रहेको र शैक्षिक गतिविधिमा विद्यार्थीहरूको राम्रो अभिरुचि पाइएको छ ।
* भौतिक तथा पर्यावरणीय व्यवस्थापन: विद्यालय परिसरको सरसफाइ तथा भौतिक व्यवस्थापन पक्ष राम्रो रहेको पाइएको छ
* दिवा खाजा र यातायात व्यवस्था: विद्यालयमै दिवा खाजा बनाएर खुवाउने गरिएको र भानुभक्त मा.वि.मा आफ्नै बसको समेत व्यवस्था रहेको छ ।
* डोलभञ्ज्याङ मा.वि.मा स्थानीय सहयोग र छात्रवास: स्थानीय तहको सहयोगमा छात्रवास सञ्चालन भई १०७ जना विद्यार्थीहरू लाभान्वित भइरहेको र उपलब्ध स्रोत साधनको समुचित व्यवस्थापन गरिएको पाइएको छ ।
* विद्यार्थीमैत्री व्यवहार: कमजोर विद्यार्थीहरूको पहिचान र आवश्यक सहजीकरणका लागि सकारात्मक प्रयासहरू भएको पाइएको छ ।
४. सुधारका लागि गरिएका सिफारिसहरू (सुधारात्मक पक्षहरू)
* टोलीले विद्यालयहरूको शैक्षिक गुणस्तर थप सुदृढ बनाउनका लागि निम्न बुँदाहरूमा सुधार गर्न निर्देशन तथा सिफारिस गरेको छ कक्षाकोठा सजावट र ब्यवस्थापन: सबै कक्षाकोठाहरू आकर्षक रूपमा सजावट गर्न र सेतोपाटीको उचित प्रयोगमा जोड दिनुपर्ने
* शैक्षिक सामग्री र ICT को प्रयोग: शिक्षण सिकाइ क्रियाकलापमा सूचना तथा सञ्चार प्रविधि (ICT) र विभिन्न शैक्षिक सामग्रीको निर्माण तथा प्रयोगलाई थप प्राथमिकता दिनुपर्ने ,
* विद्यार्थी केन्द्रित शिक्षण र उपचारात्मक कक्षा: कमजोर सिकाइ क्षमता भएका विद्यार्थीहरूलाई पहिचान गरी 'उपचारात्मक कक्षा' (Remedial Classes) सञ्चालन गर्न र विद्यार्थी केन्द्रित विधि अपनाउनुपर्ने,
* अतिरिक्त क्रियाकलाप र हस्तलेखन: अतिरिक्त क्रियाकलापका माध्यमबाट सिकाइलाई अघि बढाउनुका साथै विद्यार्थीहरूको हस्तलेखन (Handwriting) सुधारका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने,
* योजना र अभिलेखीकरण: विद्यालय सुधार योजना (SIP) अध्यावधिक गर्न, जिन्सी दाखिलाको उचित व्यवस्थापन गर्न र विषयगत समितिहरू निर्माण गरी नियमित छलफल चलाउनुपर्ने