हाम्राे बारे - परिचय
शिक्षा विकास तथा समन्वय एकाइ धादिङको समग्र विवरण
शिक्षा विकास तथा समन्वय एकाइ (EDCU) सङ्घीय सरकारको जिल्ला स्तरीय संरचना हो, जसले सङ्घीय, प्रादेशिक र स्थानीय तहबीच समन्वय गर्ने काम गर्दछ । प्रमुख कार्यहरूमा विद्यालय शिक्षाको नियमन, शिक्षक व्यवस्थापन, परीक्षा सहजीकरण र छात्रवृत्ति कार्यक्रमको कार्यान्वयन पर्दछन् ।
शिक्षा विकास तथा समन्वय एकाइको कार्यविवरण:
१) सङ्घीय शिक्षा कानुन, नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपको प्रबोधीकरण र कार्यान्वयन गर्ने कार्य;
२) सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूसँग शिक्षा सम्बन्धी कामहरूमा समन्वय गर्ने कार्य;
३) शिक्षकहरूको नियुक्ति, सरुवा, बढुवा र अवकाश व्यवस्थापन गर्ने कार्य;
४) निवृत्त शिक्षकहरूको निवृत्तिभरण (पेन्सन) र उपदान सम्बन्धी कामको सहजीकरण गर्ने कार्य;
५) माध्यमिक शिक्षा परीक्षा (SEE) लगायतका जिल्ला स्तरीय परीक्षा सञ्चालन र व्यवस्थापनमा सहयोग तथा अनुगमन गर्ने कार्य;
६) शैक्षिक प्रमाणपत्रहरूमा नाम, थर, उमेर र हिज्जे संशोधनका लागि सिफारिस गर्ने वा आवश्यक कार्यसम्पादन गर्ने कार्य;
७) विपन्न लक्षित छात्रवृत्ति र द्वन्द्वपीडित छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन तथा वितरण गर्ने कार्य;
८) विद्यालयहरूको शैक्षिक गुणस्तर, पाठ्यपुस्तक उपलब्धता र प्रारम्भिक बालविकास कार्यक्रमको अनुगमन गर्ने कार्य;
९) जिल्ला भित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूको विवरण सङ्कलन गरी एकीकृत तथ्याङ्क व्यवस्थापन (IEMIS) मा अद्यावधिक गर्ने कार्य;
१०) विद्यार्थी तथा विद्यालयको व्यक्तिगत सूचना अद्यावधिक, संरक्षण र नियमन गर्ने कार्य;
११) शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागले तोकेका अन्य कार्य ।
शाखा/फाँटहरूको कार्यविवरण
१.१ योजना तथा कार्यक्रम शाखा :
यो शाखा जिल्ला भित्रका शैक्षिक योजना तर्जमा, बजेट कार्यान्वयन, तथ्याङ्क व्यवस्थापन र छात्रवृत्ति समन्वयमा केन्द्रित रहन्छ।
१) जिल्ला स्तरीय शैक्षिक योजना (DEPI) र कार्यक्रमहरू तयार गर्न स्थानीय तहहरूलाई प्राविधिक सहयोग गर्ने कार्य;
२) जिल्ला भरका विद्यालयहरूको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) को तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र अद्यावधिक गर्ने कार्य;
३) विपन्न लक्षित छात्रवृत्ति (PMS), द्वन्द्वपीडित, अपाङ्गता भएका र दलित विद्यार्थीका लागि प्राप्त हुने सङ्घीय छात्रवृत्ति कार्यक्रमको छनोट र वितरण समन्वय गर्ने कार्य;
४) सङ्घीय र प्रादेशिक रोयल्टी वा सशर्त अनुदानबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूको भौतिक एवं वित्तीय प्रगति अनुगमन गर्ने कार्य;
५) विद्यालय भवन, प्रयोगशाला, र पुस्तकालय निर्माण सम्बन्धी योजनाहरूको विवरण सङ्कलन र माथिल्लो निकायमा सिफारिस गर्ने कार्य;
६) शैक्षिक कार्यक्रमहरूको मासिक, त्रैमासिक र वार्षिक प्रगति प्रतिवेदन तयार गरी शिक्षा विभागमा पठाउने कार्य ।
१.२ विद्यालय प्रशासन शाखा :
यो शाखा शिक्षकहरूको सेवा शर्त, अभिलेख व्यवस्थापन, र विद्यालय प्रशासन सम्बन्धी कानुनी एवं प्रशासनिक कार्यका लागि जिम्मेवार हुन्छ ।
१) एकाइ र एकाइमा कार्यरत कर्मचारीको दैनिक प्रशासनिक कार्य;
२) शिक्षकहरूको नियुक्ति, सरुवा, बढुवा, र पदस्थापनाको जिल्ला स्तरीय अभिलेख (सिटरोल) अद्यावधिक राख्ने कार्य;
३) सेवानिवृत्त शिक्षकहरूको पेन्सन पट्टा (निवृत्तिभरण अधिकारपत्र) र उपदान सम्बन्धी कागजात तयार गरी राष्ट्रिय कलेजियम वा शिक्षक किताबखानामा सिफारिस गर्ने कार्य;
४) शिक्षकहरूको असाधारण बिदा, अध्ययन बिदा स्वीकृतिको प्रक्रिया अगाडि बढाउने र नियम विपरीत काम गर्ने शिक्षकमाथि विभागीय कारबाहीको सिफारिस गर्ने कार्य;
५) शिक्षक तथा कर्मचारीहरूले बुझाउने वार्षिक सम्पत्ति विवरण (Property Details) सङ्कलन र व्यवस्थापन गर्ने कार्य;
६) शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फारम सङ्कलन, दर्ता र शिक्षक सेवा आयोग (TSC) मा पठाउने कार्य गर्ने कार्य;
७) दरबन्दी मिलान, शिक्षक आवश्यकता पहिचान, र विद्यालय अनुमति/स्वीकृति सम्बन्धी कार्यमा स्थानीय तहलाई नीतिगत परामर्श दिने कार्य।
१.३ परीक्षा शाखा:
यो शाखा जिल्ला भित्र सञ्चालन हुने राष्ट्रिय तथा क्षेत्रीय स्तरका परीक्षाहरूको गोपनीयता, सुरक्षा र व्यवस्थित सञ्चालनका लागि जिम्मेवार हुन्छ ।
१) माध्यमिक शिक्षा परीक्षा (Grade 10 - SEE) को जिल्ला स्तरीय परीक्षा समन्वय समिति (DCC) को सचिवालयको रूपमा गर्ने कार्य;
२) परीक्षा केन्द्रहरू तोक्ने, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको नियुक्ति तथा परिचालन गर्ने कार्य;
३) राष्ट्रिय परीक्षा बोर्ड (NEB) बाट प्राप्त प्रश्नपत्रहरूको गोपनीयता कायम राख्ने र उत्तरपुस्तिकाहरू सुरक्षित सङ्कलन गरी तोकिएको केन्द्रमा पठाउने कार्य;
४) विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, मार्कसिट वा लेजरमा देखिएका नाम, थर, जन्ममिति र हिज्जे (Spelling) सच्चाउनका लागि कानुनी प्रमाण जाँच गरी राष्ट्रिय परीक्षा बोर्डमा सिफारिस गर्ने कार्य;
५) हराएका वा नष्ट भएका शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि (Duplicate) निकाल्नका लागि आवश्यक प्रक्रिया र सिफारिस गर्ने कार्य;
६) स्थानीय तहले सञ्चालन गर्ने आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) को प्राविधिक तयारी र कक्षा ११/१२ को परीक्षा सञ्चालनमा समन्वय गर्ने कार्य।